
चरी

28 Jan 2025
चरी
बोल्छे आज चरी बसी नजिकमा,
रुन्छे कठै बर्बर ।
सोध्छे खै घरबास यो मुलुकमा,
मेरो कहाँ हो घर ।।
ढाल्यौ वृक्ष सबै रहेन बिरुवा,
आगो सँगै ती जले ।
पानी भित्र पुगे कठै! अब सबै,
माटो सँगै ती गले । १।
सारा मानिसका यहाँ महल छन्,
हाम्रा रहेनन् कतै ।
बन्दैछन् कसरी ठुला घर यहाँ,
निर्माण बाटो सबै।।
बाँच्ने हो कसरी बसेर वनमा,
वृक्षादि छैनन् थर ।
छैनन् ठाउँ कतै न फूल लहरा,
हाम्रो कहाँ खै घर । २।
पानी छैन कुवा मुहान वनका,
खोला हराए कता ।
प्राणी जीव विनाश मानिस गरे,
मारे सिकारी यता ।
पैहा छन् अहिले पहाड थलमा,
भूकम्प बाढी वन ।
सुक्खा याम अझै बढ्यो अवनिमा,
सन्तापमा जीवन । ३।
हावामा छरियो विषाक्त कण झन्,
रोगी बन्यो मानिस ।
खेती हुन्न कतै रसायन बढ्यो,
पीडा खडेरीसित ।
मान्छे मात्र बढ्यो घटे प्रकृतिमा,
प्राणी तथा जङ्गल ।
होला खै कसरी अहो अवनिमा,
सन्तोष या मङ्गल । ४।
लौ ! वातावरणीय पक्ष यसरी,
बिग्रन्छ हाम्रो भने ।
हावामा जलमा अनाज विषनै,
थिग्रिन्छ माटो भने
धर्ती हो सबको भनी मनुजले,
सोच्दैन आफैं किन ।
होला बाँच्न अझै यहाँ कठिन झन्,
पीडा र संवेदना ।
होमनाथ घिमिरे, भरतपुर-१०, चितवन
"वातावरण" छन्दः शार्दूलविक्रीडित